Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँ एकको उपनिर्वाचन : कांग्रेसका सबै नेताहरूको पराजय

तनहुँ एकको उपनिर्वाचन : कांग्रेसका सबै नेताहरूको पराजय

इच्छाकामना न्युज

२०, बैशाख २०८०
तनहुँ एकको उपनिर्वाचन : कांग्रेसका सबै नेताहरूको पराजय
images

तनहुँ । संघीय प्रतिनिधिसभाको एक स्थानका लागि गत १० गते सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसको पराजय किन र कसरी भयो ? यो प्रश्नको उत्तर खोज्ने, निर्वाचन परिणामको समीक्षा गर्ने काम कांग्रेसले गरेको छैन । नेपाली कांग्रेसको सुरक्षित गढ मानिएको र लोकतान्त्रिक आन्दोलनको ऊर्वर भूमि तनहुँबाट राजनीतिको शीर्ष तहमा पुग्नुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछिको रिक्त स्थानमा नेपाली कांग्रेसको पराजय हुन पुगेको छ ।

images
images

पहिलोपटक निर्वाचनमा प्रतिस्पर्धा गर्न गोर्खा, चितवन र काठमाडौं बसोवास भएका युवा विद्वान डा. स्वर्णिम वाग्लेबाट तनहुँकै माटोमा जन्मे, बढे, र संघर्ष गर्दै निष्कलंक छवि बनाएका गोविन्द भट्टराईको पराजयले देशभरि कांग्रेसको हैसियत र हविगतको पूर्वसंकेत दिएको धेरैको अनुमान छ । तनहुँमा भएको कांग्रेसी पराजय पुराना नेता गोविन्दराज जोशीलाई भित्तामा पुर्‍याउने र अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलको उत्थानको सिँढी निर्माणमा भएको प्रयास पहिलो कारण हुनसक्छ होला । तर, जोशी र पौडेलको वैयक्तिक विवादसँगै स्थानीय तहबाट राष्ट्रिय नेतृत्वमा पुगेका वा स्थानीय नेतृत्वमा रहेकाहरूको समेत स्वभाव, आचरण, व्यवहार र जनतासँगको सम्बन्धमा विच्छेद भएको परिणाम पनि उपनिर्वाचन पराजयको कारण रहेको देखिन्छ । यो उपनिर्वाचनमा तनहुँका कांग्रेस नेताहरू बसोवास गर्ने सबै वडाहरूमा कांग्रेस नराम्ररी पछारिएको छ । परिणामको आँकडाले यसलाई पुष्टि गर्दछ ।
नमुना फोटो हेर्नुहोला ।

कुन नेताको कुन वडामा बसोवास छ ?
नेपाली कांग्रेसका वरिष्ठ नेता हाल राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वमन्त्री अमरराज कैनी, पूर्वसांसद रामचन्द्र पोख्रेलको घर बसोवास रहेको व्यास नगरपालिका-२ मा कांग्रेसको मत जम्मा ५५० छ भने रास्वपाको मत १०७४ रहेको छ । स्वयम् उम्मेदवार भएका सशक्त युवा नेता गोविन्द भट्टराईको व्यास-११ मा कांग्रेसको मत १३११ छ भने रास्वपाको १४६३ छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, पूर्वसभापति रघुनाथ पौडेल र तारा श्रेष्ठको बसोवास व्यास-४ मा कांग्रेसको ४२४ र रास्वपाको ११५३ मत छ । केन्द्रीय तहमा अत्यन्त प्रभावशाली र स्पष्टबक्ता भनेर चिनिने सांसद शंकर भण्डारीको वडा भानु-९ मा कांग्रेसको मत ४५६ र रास्वपाको मत ८१४ छ । भानु-१३ मा बस्ने क्षेत्रीय सभापति श्याम मौराती र वडा ४ मा रहेका नेता लक्ष्मी आचार्यको परिणाम पनि उस्तै छ । कांग्रेसले क्रमशः ४६५ र ४८२ मत पाउँदा रास्वपाका पक्षमा क्रमशः ७८८ र ७५९ रहेको छ । भानु नपाका मेयर आनन्द त्रिपाठीको १ वडामा कांग्रेसको ३८९ छ भने रास्वपाको १०४४ । पार्टीका जिल्ला नेताहरू सहदेव अधिकारी भानु नपा ५ र अशोक कुमार श्रेष्ठको व्यास ३ मा क्रमशः ५३१ र २८० कांग्रेसको खातामा जम्मा हुँदा रास्वपामा क्रमशः ७७६ र ७३५ मत गएको छ ।

तनहुँ क्षेत्र नं १ मा जम्मा ४२ वडा रहेकामध्ये अत्यन्त झिनो मतले मात्रै सात वडामा कांग्रेसको केही बढी मत छ । मंसिर ४ मा सम्पन्न निर्वाचनका समयमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको मत २५९१३ थियो भने निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाको मत १९९२५ रहेको थियो । रास्वपाका टीका सिक्देलले ६०३२ मत मात्र पाउनुभएको थियो । उपनिर्वाचनमा त्यस समय एमालेका उम्मेदवारले पाएको मत र अहिलेको मत हेर्दा एमालेको पनि इँजार खुस्केको देखिन्छ ।

तनहुँको यो उपनिर्वाचनमा गोविन्द भट्टराई मात्रैको पराजय नभएर यस जिल्लामा बसोवास गर्ने कांग्रेसका सबै नेताहरू आफ्नै वडामा पराजित भएको देखिन्छ । कांग्रेसको सक्किने कि सच्चिने भन्ने बहस भइरहेको बेला यो परिणामको समीक्षा कुन रूपमा हुने हो ? त्यसमा पनि स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, चर्चित युवा महामन्त्री गगनकुमार थापासहित नेपाली कांग्रेसका पचास जनाभन्दा बढी केन्द्रीय सदस्यहरू तनहुँको उपनिर्वाचन प्रचारमा होमिएका थिए । हिमालय टाइम्सबाट

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - ०७:४०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology