Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सकियो दुई दिने ‘चित्तौन कचेहेरी’

सकियो दुई दिने ‘चित्तौन कचेहेरी’

इच्छाकामना न्युज

३१, बैशाख २०८०
सकियो दुई दिने ‘चित्तौन कचेहेरी’

चितवन । चितवनको नारायणी कला मन्दिरमा सञ्चालन भएको ‘चित्तौन कचेहेरी’ सकिएको छ । चितवन र मुलुककै विभिन्न समस्या तथा सम्भावनाहरू उजागर गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा १८ वटा सत्र सुरु भएका थिए । मञ्चमा आदिवासी जनजाति, दलित समुदाय, राजनीति, साहित्य, इतिहास, वातावरण, विकास निर्माण, कृषिलगायत दर्जनभन्दा बढी विषयमा केन्द्रित रहेर बहस भए । 

images

कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिएको थियो । मान्छेका जीवन–मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास भएको कार्यक्रम निर्देशक सरिता तिवारीले जानकारी दिईन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण चितवन बासीलाई समेत धन्यवाद दिएकी छन् । 

शुक्रवारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’को दोस्रो दिन १० वटा सत्र सञ्चालन भएका थिए । दोस्रो दिनको पहिलो सत्रका रुपमा ‘विकासमा कहाँ छुटे आदिवासी?’ शिर्षकमा बहस भएको थियो ।  जसमा वीरेन्द्र महतोले डा.सञ्जय महतो, ज्ञानबहादुर बोटे, इन्दु थारु र सुनिमायाँ चेपाङसंग बहस गरेका थिए । गाउँमा विकास भए पनि त्यसबाट आदिवासी जनजातिले प्रत्यक्ष अवसर नपाएको बताए । नेपालको विकास आदिवासी जनजातिको पहुँचविपरीत रहेको उनीहरुको भनाई थियो । 

यस्तै दोस ‘जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?’ विषयक छलफलमा विकास विश्वकर्मा, रुपा सुनार र शिवहरी ज्ञवालीले भाग लिएका थिए । उनीहरुले धर्म परिवर्तनबाट जातीय व्यवस्थाको उन्मुलन नहुने बताएका थिए । कानुन बनेपनि कार्यान्वयन हुन नसक्दा छुवाछुत प्रथा हट्न नसकेको उनीहरुको भनाई थियो । 

लेखक तथा पत्रकार वसन्त बस्नेतले सहजकिरण गरेको ‘नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति?’ विषयक छलफलमा सांसद सोविता गौतम, केशव दुहाल र गुणराज लोहनी वक्ताको रुपमा सहभागि थिए । उनीहरुले राजनीतिमा विचार र व्यवहार दुवै महत्वपूर्ण हुने बताए । राजनीतिमा समयअनुसार विचार हुनुपर्ने उनीहरुको धारणा छ । 

शनिवार पुस्तक विमोचन र वार्ता समते गरिएको थियो । यस सत्रमा पत्रकार राजेश घिमिरेले लेखक र समालोचक संग वार्ता गरेका थिए । चित्तौन कचेहेरीमा अभियन्ता केपीकिरण शर्माको ‘भुमरी’ र डा जीवन क्षेत्रीका ‘नुन–तेल, विगत र पदयात्रा’ पुस्तक विमोचन गरिएको हो । चेपाङ संरक्षणका अभियन्ता शर्माको ‘भुमरी’ चेपाङ समुदायको शैक्षिक व्यक्तिद्वय विश्वास चेपाङ र सुनिमाया चेपाङमार्फत विमोचन गरे  । सामाजिक अभियन्ता डा क्षेत्रीको कृति ‘नुन–तेल, विगत र पदयात्रा’ लेखकका बुबा बलबहादुुर र आमा लक्ष्मीमार्फत सार्वजनिक गरिएको हो ।

‘कसरी लेखिँदै छ चितवनमा आख्यान’ शिर्षकमा बहस भएको थियो । बसहमा सिम्रन क्षेत्री, सिर्जन अविरल, भूपिन, रेशम विरही र गणेश खनियाँ सहभागि थिए । उनीहरुले चितवनको आख्यानलाई अझ बलियो बनाउँदै लैजानुपर्ने धारणा राखे । 

कार्यक्रममा नेपालमा संघीयता कार्यान्वयनमा समस्या देखिएको विषयले पनि प्रवेश पायो ।  ‘मधेश र सत्ता’ शीर्षकमा चलेको बहसका क्रममा अधिकारकर्मीहरुले वर्तमान संघीयतालाई इञ्जिनबिनाको गाडीको संज्ञा दिए । यस बहसमा भोला पासवान, डा रामजी राम अन्जु झा र चन्द्रकिशोर सहभागि थिए । 

नेपालमा रैथाने भाषा विस्तारै लोप हुँदै गएको छ । नेपालमा अहिले १२५को हाराहारीमा जातजाति रहेका छन् । त्यसमध्ये १२३ वटा मात्रै मातृभाषा रहेका छन् । त्यसमा ७१ वटा भाषा संकटमा पुग्ने अवस्थामा रहेको बताइएको छ । संकटाउन्मुख १८, अत्यन्त संकटमा परेका भाषा ७ वटा रहेका छन् । नेपाल सरकारले २०२२देखि २०३२लाई आदिवासी भाषा दशक धारणा ल्याएको थियो । तर, त्यसबाटपनि उपलब्धि हुन सकेको छैन । यस विषयलाई समेट्दै  ‘रैथाने भाषाको साहित्य’ विषयले समेत प्रवेश पायो । बहसमा मनोज चौधरी, नवीन विभास, प्रतिसरा सायमी, राजु स्याङतान र अभय श्रेष्ठ सहभागि थिए । उनीहरुले अरुको भाषा अपनाउँदै जाँदा आफ्नै भाषा गुमाउनुपरेको अनुभव सुनाए । 

चितवनको मानिसहरुको बसोवासको इतिहास त्यति लामो छैन । विभिन्न ग्रन्थमा लिच्छिविकालदेखि नै यहाँ मानिस बस्दै आएको बताईएपनि यहाँ प्रजातन्त्र स्थापनाभएपछि नै मानिसको बसोबास उल्लेख्य रुपमा भएको पाईन्छ । अहिले चितवनमा तिव्र सहरीकरण समेत बढ्दो अवस्थामा छ । यसलाई समेट्दै चितवनः ‘हिजो, आज र भोलि’ शिर्षकमा बहस चल्यो । पत्रकार रमेशकुमार पौडेलले सहजिकरण गरेको सत्रमा सरस्वती रिजाल, उषा तितिक्षु, प्रभात कुमार जोशीको सहभागिता रहेको थियो । चितवनमा बसोवासको इतिहासका विषयमा उनीहरुले प्रकाश पारे । प्रदीप अन्जानले निर्देशन गरेको नाटक स्वप्नवयान समेत प्रस्तुत गरिएको थियो । महोत्सवको अन्तिम सत्रका रुपमा ६ जना गजलकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । जसमा २४ वटा गजल प्रस्तुत भएका थिए । विमर्श कंडेलले सहजिकरण गर्नभएको गजल बाचन सत्रका मिथिला प्याकुरेल, दिग्गज धौराली, लक्ष्मण संगम, मुक्त उदास, कृष्णप्रसाद अर्याल र इन्दिरा अधिकारीले चार÷चार वटा गजल प्रस्तुत गरेका थिए । 

यस्तै पहिलो दिन शुक्रवार ८ वटा प्रस्तुती भएका थिए । जसमा नारायणी कला मन्दिरमा लेखक एवम् अध्येता राधा पौडेलको विद्धत प्रवचनबाट सुरु भएको साहित्यिक महोत्सवमा घर गाउँको सिंहदरबार ः कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलता ः कर्म र मर्म, न्यायको लामो लडाइ, महिलामाथिको हिंसा ः यथार्थ र भाष्य, नदी र भूमिगत जलाधारको दुर्दशा, यौनिक अल्पसंख्यक समुदाय ः अस्तित्व र आत्मसम्मानको खोजी विषयमा छलफल भएको थियो । सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा थाहा ? नाटकसमेत प्रस्तुत गरिएका थिए ।  पहिलो दिन ८ वटा सत्रमा ३० जना वक्ताहरुले बहस र विमर्शका थिए । २३ कविले कविता वाचनसमेत गरेका थिए । 

 

images
प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - ११:४७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology