तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ गुरुङ च्यानडाँडामा मंङगलबार बोराभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ । घट्नाको बिषयमा जानकारी भएको करीब बाह्र घण्टाको अवधिमा शव पहिचानदेखि हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न तनहुँ प्रहरी सक्षम भएको छ ।
मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबल हटिया घरभई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्दै आएकी २२ बर्षीय रंगिला भुजेल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराइएको हो । श्रीमतिको हत्यामा संलग्न रहेको आरोपमा सोही स्थानमा डेरा गरी बस्दै आएका २१ बर्षीय श्रीमान मनोज बिष्टलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको छ ।
श्रीमतिले मोबाइलमा दुई वटा सिम प्रयोग गर्दै आएको बिषयलाई लिएर श्रीमानले हत्या गर्नु मुख्य कारण भएको अनुसन्धानबाट खुल्न आएको तनहुँका प्रहरी प्रमुख अबदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।
श्रीमतिले दुई वटा सिम प्रयोग गर्दै आएपछि श्रीमान श्रीमति बीच मनमुटाब हुदै आएको र सोही बिषयलाई लिएर आफुले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
सामाजिक संञ्जालमार्फत चिनजान भई २०८० बैशाख १ गतेका दिन प्रेम विवाह भएको थियो । बिवाह पश्चात व्यास नगरपालिका–४ मा डेरा गरी दुवै जना बस्दै आएको अनुसन्धानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ ।
मृतकका बुबा मनबहादुर भुजेलले केही दिन देखि छोरी हराएको भनि छोरीको फोटो सहितको हुलिया र निवेदन यस प्रहरी कार्यालयमा पेश गर्नु र उक्त स्थानमा शंकास्पद शव फेला पर्नुले प्रहरीलाई शव पहिचान गर्न सहज भएको उनले बताए ।
हत्यामा संलग्न बिष्ट क्षेत्रीलाई व्यास नगरपालिका–३ तरकारीलाईनबाट मंगलबार नै पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ ।
निजलाई तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।