तनहुँ । तनहुँमा १ व्यक्तिले गोली हानी श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय तनुहँका अनुसार तनहुँको ब्यास नगरपालिका–५ मानुङका ५६ वर्षीया श्रीप्रसाद आलेले भरुवा बन्दुकबाट गोली श्रीमती ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्।
श्रीप्रसादले मंगलबार राति करिब ११ बजेतिर श्रीमती गीतामाथि भरुवा वन्दुकबाट गोली हानेका थिए। गोली लागेर गम्भीर घाइते भएकी गीतालाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि दमौली अस्पताल पुर्याइएको थियो।
गीताको उपचारका क्रममा मंगलबार राति नै दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।
श्रीमतीमाथि गोली प्रहार गर्ने श्रीप्रसादलाई प्रहरीले मंगलबार राति नै नियन्त्रणमा लिएको थियो। पक्राउ परेका श्रीप्रसादले घरायसी विवादका कारण झगडा हुँदा आवेशमा आएर गोली चलाएको बयान दिएको प्रहरीले जनाएको छ ।