चितवन । गुरुङ समुदायको धार्मिक संस्थाको रुपमा स्थापित तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनले नारायणी नदी किनारमा भव्य रुपमा तमू ल्होसार मनाएको छ । संघको आयोजनामा आज एक कार्यक्रमको आयोजना गरि तमू ल्होसार भव्य रुपमा मनाएको हो ।

औपचारिक कार्यक्रम सुरु हुनु पूर्व नारायणगढस्थित क्याम्पाचौरबाट बृहत् र्याली निकालेको थियो। तमू जातिको धार्मिक आस्थाको प्रतिक ‘क्होइबो’को प्रतिमा बोकेरै गरिएको र्याली मिलनरोड, शहिदचोक, पुलचोक, मेनरोड, लिलाचोक हुदै नारायणी नदी किनारमा पुगेको थियो ।

र्यालीमा तमू समुदायको मौलिक धर्म गुरुहरु प्हच्यु क्ल्हेप्री, बोन लम्ले आ–आफ्नो सांस्कृतिक नृत्य देखाएका थिए। यस्तै विभिन्न इकाइबाट उपस्थित भएका समूहहरुले पनि प्रत्यक्ष कौडा, स्यार्गा, घाँटु, सोरठी लगायत गुरुङ समुदायका मौलिक लोक नृत्यहरु प्रस्तुत गरेका थिए।
तमू प्ये ल्हु संघ चितवनले पुस १५ गतेको अवसर पारेर १३ गते नै कार्यक्रम आयोजना गरेको हो। १५ गतेका दिन विभिन्न इकाइहरूमा कार्यक्रम हुने हुँदा जिल्ला समितिले दुई दिन अघि नै ल्होसार मनाएको संघका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए।

विगतका वर्षहरुलाई पछ्याउँदै यसवर्ष पनि दुई दिनअघि नै भव्य कार्यक्रम गरेर ल्होसार मनाएको उनले बताए। कार्यक्रमका प्रमुख अतिथि तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमूले पछिल्लो समय ल्होसार एउटा समुदायमा मात्रै सीमित नभएको बताए।
‘
तमू समुदायको महान पर्व ल्होसार पछिल्लो समय सबैको साझा पर्व बनेको छ। यो हाम्रो लागि पनि खुसीको कुरा हो,’ उनले भने, ‘प्रविधिको युग भएर पनि होला। हाम्रो पर्व र हाम्रो कुरा धेरै ठाउँमा पुगेको छ। यो ज्यादै सकारात्मक विषय हो।’

यसैगरी चर्चित लोक गायक मिलन लामाले कार्यक्रममा उपस्थित दर्शकहरुलाई आफ्नो प्रस्तुति मार्फत छमछमी नचाएका छन् । कार्यक्रममा करिब दुई दशक पहिलेको बहुचर्चित गीत ‘हङकङ आइडीले’बाट गीत गाउन थालेका उनले आफ्ना नयाँ, पुराना गीतसँगै पछिल्लो समय चर्चामा रहेका अन्य गीत पनि सुनाउन भ्याए। उपस्थित दर्शकहरूले उनको स्वरमा स्वर मिलाउँदै नाचेर साथ दिए।

कार्यक्रममा स्थानीय कलाकार एवम् सञ्चारकर्मी सूचना गुरूङ, कार्यक्रम सञ्चालक राजनदील गुरूङ, रादीमा गुरूङलगायतले पनि गीत गाएर मनोरञ्जन प्रदान गराएका थिए।





