Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मिथिला माध्यमिक परिक्रमा आजदेखि, हजारौं श्रद्धालुको सहभागिता

मिथिला माध्यमिक परिक्रमा आजदेखि, हजारौं श्रद्धालुको सहभागिता

रासस

२७, फाल्गुण २०८०
मिथिला माध्यमिक परिक्रमा आजदेखि, हजारौं श्रद्धालुको सहभागिता

धनुषा । १५ दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरु भएको छ । नेपाल र भारतका हजारौं सङ्ख्याका श्रद्धालु भक्तजनको सहभागिता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी १ सय ३३ किलोमिटर पैदलयात्रा गरिनेछ ।  

images

सोही यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । 

कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए । आज सबै तीर्थालु हनुमाँगढमा जम्मा हुनेछन् ।   

फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीले विश्राम गर्ने जनाइएको छ । उनका अनुसार फागुन ३० गते  ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्नेछन् ।  

त्यसैगरी आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबलकिशोर दासले बताउनुभयो । चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गरेको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए । 

चैत ५ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने चैत ६ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन् । चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ ।

परिक्रममा सहभागी श्रद्धालु परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा सहभागी भएका छन् । उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन् ।

अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन् पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - ०८:१७:१० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology