Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

बनाउन १० वर्ष लागेको फोक्सिङटार पुल दुई दिनको बर्षाले दुई बर्ष नपुग्दै बगायो

बनाउन १० वर्ष लागेको फोक्सिङटार पुल दुई दिनको बर्षाले दुई बर्ष नपुग्दै बगायो

रासस

१५, आश्विन २०८१
बनाउन १० वर्ष लागेको फोक्सिङटार पुल दुई दिनको बर्षाले दुई बर्ष नपुग्दै बगायो
images

खोटाङ / सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेवल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । 

images
images

विसं २०६९ चैत २३ गते सम्झौता भई १० वर्षपछि विसं २०७३ चैत २२ गते निर्माण सम्पन्न भएको थियो । खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारमा निर्माण भएको उक्त पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै शनिबार आएको बाढीले बगाएको छ। 

खोटाङका नागरिकको दैनिकीसँग जोडिएको उक्त पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लासँगको सिधा यातायात सेवा विच्छेद भएको हो । 

पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए।

सम्झौताको १० वर्षपछि निर्माण भएको पुल शनिबारको बाढीले बगाएपछि आवागमनमा पुनः समस्या हुने उनले बताए । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको उक्त मोटरेबल पक्की पुल एक सय २० मिटर लामो थियो । 

फोक्सिङटारस्थित पुल बाढीले बगाएपछि जिल्लाको विकास १० वर्ष पछाडि धकेलिएको अध्यक्ष आचार्यले बताए । 

“जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला ल्याइन्थ्यो। पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो,” उनले भने, “पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ । यसप्रति सम्बन्धित निकायले समयमा ध्यान दिएर यथाशीघ्र वैकल्पिक व्यवस्था गर्नु आवश्यक छ ।” 

दिक्तेल–गाईघाट खण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको उक्त सडक कालोपत्रको काममा ठेकेदार कम्पनीले लापरबाही गर्दा अलपत्र परेको स्थानीयले आरोप लगाएका छन् । 

मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङबाट फोक्सिङटार (२७ किलोमिटर) देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । 

काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ । 

भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्नेगरी विसं २०७३ असार–३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग सम्झौता गरेको थियो ।

सम्झौता मिति सकिएको लामो समय बितिसक्दा उक्त सडक कालोपत्र सम्पन्न नभएको उद्योग वाणिज्य संघका अध्यक्ष आचार्यले बताए । 

देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार खण्डको करिब ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । 

रु ५५ करोड ८७ लाखमा वि.सं. २०७७ साउन १० गतेभित्र कालोपत्र सक्नेगरी विसं २०७३ साउन ११ गते सो खण्डको सम्झौता भएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा सोही मार्ग प्रयोग गरिने गरिएकामा निर्माण ठप्प हुँदा सास्ती हुँदै आएको अध्यक्ष आचार्यको भनाइ छ । 

सुरुदेखि काममा ढिलासुस्ती गर्दै आएको ठेकेदार कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नगरी हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताए ।

“पछिल्लो समय थपिएको समयावधि गत वर्षको चैत मसान्तमा सकिएको हो । ठेकेदार कम्पनीको लापरबाहीले सडक कालोपत्रको काम बीचैमा छाडेर अलपत्र पारेपछि अहिले कुनै पनि सवारीसाधन सञ्चालन हुने अवस्था छैन,” उनले भने, “अवरुद्ध काम पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म सम्बन्धित निकायले चासो दिएको देखिँदैन । यसको प्रत्यक्ष असर समग्र जिल्लावासीमा परेको छ ।” 

सडकको काममा ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि एकमहिना काम ठप्प बनाएका थिए । 

कालोपत्रमा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक, होटल र पसलको भुक्तानी पाउँन नसकेका वडाध्यक्ष राईले जानकारी दिए । 

“ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । थपिएको सम्झौता मिति सकिएपछि दुवै सडक खण्डमा प्रयोग गरिएका औजार लिएर ठेकेदार कम्पनी निर्माणस्थलबाट हिँडिसकेका छन्,” उनले भने । “अहिले बाढीले फोक्सिङटारमा निर्माण गरिएको पुल बगाएपछि आवागमनमा थप सास्ती हुने उनको भनाइ छ।” 

images
प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - ०९:१९:२७ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology