Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ताराखोलाका सामुदायिक वनमा भिरमहको शिकार

ताराखोलाका सामुदायिक वनमा भिरमहको शिकार

images

इच्छाकामना न्युज

१९, आषाढ २०८२
ताराखोलाका सामुदायिक वनमा भिरमहको शिकार
images

रामकृष्ण बोहरा, बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाको सामुदायिक वनमा भिरमह शिकार गरिएको छ । ताराखोला वडा नं. ५ मा पर्ने जुल्फे र ठुलोभिर सामुदायिक वनको भिरमा मह शिकार गरिएको हो ।

जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीका अनुसार, यसवर्ष डेढ सय लिटर मह काढिएको छ । गत वर्ष जुल्फे र ठुलोभिरमा दुई सय साठी लिटर मह काढिएको थियो । ‘‘जलवायु परिवर्तनको असरले होला यसवर्ष मह उत्पादन घट्यो’’ घर्तिले भन्नुभयो । भिरमहको शिकारमा स्थानीय ६० जनासम्म सहभागि थिए । परम्पराका रुपमा भिरमहको सिकार हुँदै आए पनि यसलाई व्यावसायिक बनाउने घर्तीले योजना सुनाउनुभयो ।

डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थी एक वर्ष मह उत्पादन बढ्ने अर्काे वर्ष घट्यो भने त्यसलाई जलवायु परिवर्तनको अवसर भन्न नमिल्ने बताउनुहुन्छ । ‘‘माहुरीलाई मह बनाउन आवश्यक पर्ने पानी र फुल चाहिन्छ’’ पन्थीले भन्नुभयो, ‘‘महका लागि अनुकुल समयमा पानी नपर्ने र फुल नफुल्दा मह उत्पादन घट्न सक्छ ।’’ लामो समयको अन्तरालमा मह उत्पादन बढ्ने र घट्ने भएमा त्यसलाई जलवायु परिवर्तनको असर भन्न सकिने डिभिजन प्रमुख पन्थीको भनाइ छ ।

मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताउनुभयो । यसवर्ष मह कम हुँदा समूहमा नराखी कामअनुसार बाँडफाँट गरिएको घर्तिले बताउनुभयो । एक लिटर महलाई १५ सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ । औषधीजन्य गुण र स्वास्थ्यबद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिरमह प्रयोग गर्छन् ।

कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ । मह सिकार जोखिमपूर्ण हुँदा जो कसैले सजिलै सिकार गर्न सक्दैनन् । जिजुबाजेले सिकाएको मह सिकारको ज्ञान र सिपलाई अँगाल्दै हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको घर्तिले बताउनुभयो । लेकाली चोयाँ र काठबाट बनेको पराङ मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । सुथरी चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको छ ।

जैविक गाउँपालिकाका रुपमा परिचित ताराखोलाले ग्रामीण पर्यटन प्रवर्धनमा  भिरमहलाई जोड्ने योजना बनाएको अध्यक्ष धनबहादुर विक ‘हिमाल’ बताउनुहुन्छ । पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको विकको बुझाई छ । मह सिकारलाई साहसिक पर्यटनसँग जोड्न सके समृद्विमा पुग्न सकिने विकले बताउनुभयो ।

images
प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - ०८:३५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology