Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रत्ननगर नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ : शैक्षिक गुणस्तरमा फड्को मार्दै रत्ननगर

रत्ननगर नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ : शैक्षिक गुणस्तरमा फड्को मार्दै रत्ननगर

पत्रपत्रिका

२९, आषाढ २०८२
रत्ननगर नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ : शैक्षिक गुणस्तरमा फड्को मार्दै रत्ननगर

रत्ननगर । रत्ननगर नगरपालिकामा शनिबार आर्थिक वर्ष २०८१-०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले आर्थिक वर्षभित्र २१ वटा विषयगत शाखाबाट सम्पादित कार्यप्रगति तथा नगरका सबै कार्यक्रमहरुको विवरण प्रस्तुत गरेका थिए ।

images

उनले आव २०८१-०८२ मा कुल विनियोजित एक अर्ब ४९ करोड ६५ लाख ७५ हजार बजेटमध्ये चालूतर्फ ७३ करोड छ लाख २२ हजार अर्थात् ८२ दशमलब ४८ प्रतिशत र पुँजीगततर्फ ४५ करोड ६६ लाख ८१ हजार अर्थात् ७४ दशमलब ७७ प्रतिशत खर्च भएको वित्तीय विवरण पेस गरे । उनले कुल विनियोजित बजेटमध्ये एक अर्ब १८ करोड ७३ लाख ३ हजार अर्थात् ७९ दशमलब ३३ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।

नगरले एक वर्षभित्र सम्पादन गरेका कामहरुको समीक्षा गर्दै नगरवासीको सुझाव सङ्कलनका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरवासीले गुनासोभन्दा विकास निर्माण, फोहोर व्यवस्थापन, राष्ट्रिय परिचयपत्र, आमाको नामबाट नागरिकता, अपाङ्गलाई सहायता, कोल्ड स्टोर र अव्यवस्थित बसोवासीको समस्या समाधानका विषयमा आआफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागी अधिकांश नगरवासीहरुले स्थानीय सरकारको लगानी अर्थपूर्ण हुने भन्दै देखिने ठाउँमा लगानी गर्न आग्रह गरेका थिए । कार्यक्रममा शम्भुभक्त थपलिया, दीपक थापा, लक्ष्मीधर शर्मा, राधिका रिमाल, रूद्र सी, चन्द्रकला पौडेल, सरोज लामिछाने, रमेश पाण्डेलगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटाले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिलगायत नगरको हित हुने सवालमा काम गर्दै आएको र चियागफमा विश्लेषण गर्नुभन्दा नगरले गरेका असल गतिविधिका विषयमा पनि चर्चा गर्न आवश्यक रहेको बताए । सुकुमबासीलाई लालपुर्जा दिने विषय कुनै वडाध्यक्ष वा मेयरको हातमा नरहेको प्रस्ट पार्दै प्रक्रिया पुगेका १३१ परिवारलाई लालपुर्जा वितरण गरिएको र बाँकी रहेकाको प्रक्रिया पूरा गरी वितरण गरिने उनले जानकारी दिए ।

नगरप्रमुख सापकोटाले नगर गौरवको रुपमा रहेको हरियाली पार्कको निरन्तरताका लागि यसवर्ष १३ करोड विनियोजन गरिएको र बजार क्षेत्रमा हाइमास लाइट र स्ट्रीट लाइट जडानको काम थालनी भएको बताए । रत्ननगर–५ मा प्रस्तावित ‘वाटर किङ्डम’ विविध कानुनी जटिलताका कारण ढिलाइ भएको र पछि ठेकेदारले २५ प्रतिशत लागत बढाउनुपर्ने विषयमा कुरा नमिल्दा बजेट फ्रिज भएको उनले सुनाए । उनले भने, ‘सरकारी पैसा सरकारकै खातामा गयो त के बिग्रियो ?’

उनले यसवर्षको एसइई परीक्षामा रत्ननगर नगरपालिकाका सामुदायिक विद्यालयतर्फ चितवनका सात पालिकामध्ये ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गरी रत्ननगर उत्कृष्ट भएको भन्दै क्रमशः शैक्षिक गुणस्तरमा रत्ननगरले फड्को मार्दै गएको उल्लेख गरे ।

नगर उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहका सम्बन्धमा सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाइसमेत गरिएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले नागरिकता विधेयक, २०८१ दोस्रो संशोधन प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको र राष्ट्रिय सभाबाट पारित भएपछि आमाको नामबाट नागरिकता लिन सहज हुने उनले बताए ।

प्रजिअ पौडेलले चितवनमा ७ लाख ४९ हजार जनसंख्या रहेकोमा एक वर्षमा ३ लाख ५० हजारले सेवा लिन आएको बताउँदै स्थायीरुपमा बसोवास गरेका बासिन्दालाई मात्र सिफारिस गरी प्रशासन कार्यालयमा पठाउन आग्रह गरे । चेक अनादर, साँध–सिमाना, घर खाली गर्न, व्यक्तिगत कारोबारका मुद्दाहरु प्रशासनले नहेर्ने भएकाले यस्ता घटना स्थानीय मेलमिलाप समिति र प्रहरी कार्यालयमार्फत मिलाउन उनले आग्रह गरे । उनले हालै शैक्षिक परामर्श केन्द्रहरुमा अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको र दर्ता नगरी सञ्चालन भएका अन्य व्यवसायहरुका सन्दर्भमा पनि पालिकाहरुको समन्वयमा संयुक्त अनुगमन गरी करको दायरामा ल्याउन प्रशासन तयार रहेको जानकारी दिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीद्वय चिरञ्जीवी शर्मा र चूडामणि शर्मा, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालगायतको सहभागिता रहेको थियो । एसआर मिडिया प्रलिले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पत्रकार केदार शर्माले गरेका थिए । चितवनपोष्ट दैनिकबाट

images
प्रकाशित मिति :आषाढ २९, २०८२ आइतवार - ०९:१८:५३ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology