गोरखा, ११ चैत । गोरखाका प्रदेशसभाका सांसदहरुले प्रादेशिक निर्वाचन क्षेत्रको योजना अनुगमन सुरु गर्ने भएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालुवर्ष छनौट भएकामध्ये सम्पन्न योजनाहरुको आज(बुधबार)देखि अनुगमन गर्न लागिएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।
‘प्रदेश सभा अन्तर्गत चारवटा निर्वाचन क्षेत्र रहेको गोरखामा ३५ वटा योजना सम्पन्न भइसक्यो’, पूर्वाधार कार्यालयका प्रमुख दयाराम अधिकारीले भने, ‘सयवटा योजना मध्ये बाँकी पनि चलिरहेको छ, सबै योजना आर्थिक वर्षभित्र सक्छौँ ।’ सम्पन्न भएका योजनाको सांसदहरुको उपस्थितिमा बुधवारबाट अनुगमन सुरु गर्ने उनले बताए ।
चैत ११ देखि सांसद हरिशरण आचार्यको निर्वाचन क्षेत्रमा सम्पन्न भएका योजनाको अनुगमन हुनेछ ।
१२ गते भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रामशरण बस्नेतको निर्वाचन क्षेत्रमा संचालित योजनाको अनुगमन गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताए । १३ गते कृषि मन्त्री लेखबहादुर थापाको निर्वाचन क्षेत्रमा सम्पन्न योजना र १४ गते प्रकाशचन्द्र दवाडी निर्वाचित क्षेत्रको योजना अनुगमन हुनेछ ।
अनुगमनका लागि सांसद धनमाया लामा र मनकुमारी गुरुङको संयोजकत्वमा समिति रहेको छ । समितिमा सम्बन्धित निर्वाचन क्षेत्रका सांसद, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख, गाउँपालिका उपाध्यक्ष र संम्बन्धित वडाका वडा अध्यक्ष समेत रहनेछन् ।
क्षेत्र नम्बर १ को प्रदेश ‘क’मा ५ वटा, ‘ख’ मा १५ वटा, क्षेत्र नम्बर २ को ‘क’ मा सात वटा र ‘ख’ मा ८ वटा योजना सम्पन्न भएको छ ।
सबै क्षेत्रमा २५/२५ वटा योजना छनौट भएको थियो । आठ करोड रुपैयाँ ती योजनामा बिनियोजन भएको छ । दुई देखि २५ लाखका योजना संसदहरुले छनौट गरेका थिए ।