गोरखा, ३० जेठ । कोरोना महामारीका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौति छ । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उखानझैँ कोरोना महामारीबाट पनि केही सकारात्मक उपलब्धी हाँसिल भएका छन् । दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने, हात नमिलाई नमस्ते गर्ने आदतको विकास भएको छ । अझ भन्नुपर्दा यसले गाउँगाउँका स्वास्थ्य संस्थालाई संवृद्ध बनाएको छ ।
ठूलो भवन भएर पनि उपकरण तथा जनशक्तिको अभावको समस्या झेलिरहेको बुङ्कोट स्वास्थ्य चौकी अहिले जनशक्ति र उपकरण सुविधाले भरिभराउ छ । अहिले यहाँ पर्याप्त अक्सिजनसहितको बेड, ल्याब सेवा, अक्सिमिटर, पिपिई, अक्सिजन कन्सन्टे«टर जडित छ । साधनस्रोतले सम्पन्न भएकाले बुङ्कोट स्वास्थ्यचौकीलाई गाउँपालिकाले वैकल्पिक आइसोलेशन सेण्टरको रुपमा प्रयोग गरिरहेको शहिदलखन गाउँपालिका ७ का वडाअध्यक्ष शरण श्रेष्ठले बताए ।
‘जब कोभिड फैलन थाल्यो, अब यसलाई नियन्त्रण गर्न सरकारको मुख ताकेर मात्र सम्भव छैन भन्ने लाग्यो र बैशाखको २४ गते आम भेला आयोजना गरेँ’, श्रेष्ठ भन्छन्, ‘बैठकले संघ सरकार, प्रदेश सरकार, पालिका सरकार, सामाजिक संघसंस्था र सहयोगी मन भएका देश, विदेशमा रहेका व्यक्तिहरुमा पनि सहयोगका लागि अपिल गर्ने निर्णय गरियो । त्यसपछि धमाधम सहयोग जुट्न थाल्यो ।’ नगद १७ लाख रुपैयाँ, चारवटा अक्सिजन कन्सन्टेूटर उपकरण, पाँचवटा अक्सिजन सिलिण्डर, ३० वटा भन्दा धेरै अक्सिमिटर, पर्याप्त मास्क, सेनिटाइजर संकलन भएको उनले बताए ।
स्वास्थ्यचौकीमा यसअघि एउटा एम्बुलेन्स रहेकोमा कोभिडकै अवधिमा एक सामाजिक संस्थाले नयाँ एम्बुलेन्स पनि सहयोगस्वरुप प्रदान गरेको वडाअध्यक्ष श्रेष्ठले बताए । ‘अब कुनै महामारी परेमा वा प्राकृतिक प्रकोप भयो भने पनि सामान्य उपचार सेवा गाउँमै गर्न सक्ने भएका छौँ’, उनले भने, ‘पालिकाले पनि हाम्रो स्वास्थ्यचौकीलाई बैकल्पिक आइसोलेशन सेण्टरको रुपमा लिएको छ ।’ स्वास्थ्यचौकीमा अहिले छ जना स्वास्थ्यकर्मी कार्यरत रहेकामा अब यसलाई थप गरी व्यवस्थित गर्दै लैजाने योजना रहेको वडाअध्यक्ष श्रेष्ठले बताए ।
शहीद लखन गाउँपालिकाले वडा नं. ६ को घैरुङ स्वास्थ्यचौकीमा पनि कोभिड अस्पताल सञ्चालन गरेको छ । त्यहाँ चिकित्सक सेवा, ल्याब, एक्सरे सेवा स्थापना भयो । अब चौबीसैघण्टा सेवा सञ्चालन गर्ने योजनामा गाउँपालिका रहेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ बताउँछन् ।
‘भौतिक र जनशक्ति अभाव हुँदा बिहान १० देखि पाँच बजेसम्म मात्र सञ्चालन भएको घैरुङ स्वास्थ्य चौकीलाई अब स्तरोन्नति गरेर चौबीसै घण्टा सेवा सञ्चालन गर्न सकिने भएका छौँ’, श्रेष्ठ भन्छन्, ‘अब गाउँका साधारण बिरामी उपचारका लागि धाएर बजार जानु पर्दैन । गाउँमै सेवा पाउँछन् । स्थानीयको पहलमा यतिसम्म हुनसक्यो भने अब आवश्यकता हेर्दै गाउँपालिकाले पनि स्वास्थ्यचौकीहरुको स्तरवृद्धि गर्नेतर्फ सोचाइ बनाएको छ ।’
भच्चेक स्वास्थ्य चौकी पनि अहिले उपकरण र जनशक्तिले भरिभराउ भएको छ । स्थानीयको होस्टेमा गाउँपालिका, प्रदेश सरकार, नेपाल सरकार, सामाजिक संघसंस्था तथा समाजसेवीहरुले देश विदेशबाट हेल्थपोष्टहरुमा विभिन्न उपकरण दिएर सुविधासम्पन्न बनाएको त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले जानकारी दिए ।
‘गाउँ(गाउँका स्वास्थ्य संस्थाहरुलाई सक्दो सुविधा सम्पन्न बनाउनु पर्ने रहेछ भनेर कोभिडले पाठ सिकायो’, उनले भने, ‘त्यसैले प्रत्येक पालिकाहरुमा पाँच बेड, दस बेड, पन्द्रबेडको अस्पताल बनाउने कार्यक्रम आएको छ । त्यसका लागि जनशक्ति, उपकरणहरु पनि आएका छन् । कोभिड साम्य भएपछि त्यसलाई स्थानीय तहले निरन्तरता दिँदै जान बाध्य हुनेछ ।’ जसले गर्दा अन्य सरुवा रोग, महामारी, प्राकृतिक प्रकोप आइपर्दा काम लाग्ने उनले बताए ।
‘ठूला प्रकोपहरु आइपर्दा त्यसको व्यवस्थापनका लागि ५०(६० बेडको उपचार केन्द्र तयारी अबस्थामा राख्नु पर्ने रहेछ भनेर पनि महशुस भएको छ’, दवाडीले भने, ‘बरु सार्वजनिक स्थलमा टूस्टले बनाएको अस्थायी संरचना किन नहोओस्, तयारी अबस्थामा राख्नु पर्ने रहेछ, जसले गर्दा भूकम्प, पहिरो, ठूलाठूला सरुवा रोग अथवा महामारी आउँदा कम्तीमा होल्डिङ सेण्टरको रुपमा प्रयोग हुन्छ । आइसोलेशनको रुपमा प्रयोग हुन्छ ।’ अहिले प्राप्त भएका अक्सिजन, बेड लगायतका उपकरणको सहायताले भविष्यको विपद व्यवस्थापनको तयारी गर्नुपर्छ ।’
अहिले कोभिड व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन प्रकृतिका स्रोत साधन प्राप्त भएको भीमसेनथापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।
‘अहिले सरकारी निकायबाट पनि, सामाजिक संघसंस्था तथा व्यक्तिगत तबरबाट पनि प्रसस्त मास्क, सेनिटाइजर ग्लव्स जस्ता अल्पकालीन र अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, अक्सिमिटर, बेड, पिपिई, ब्लडप्रेसर नाप्ने डिजिटल मेसिन, थर्मोगन जस्ता दीर्घकालीन रुपमा काम लाग्ने उपकरण पनि प्राप्त भएका छन्’, उनले भने, ‘कोभिड अस्पताल भनेर विभिन्न स्वास्थ्य चौकीको स्तरोन्नति भएको छ । कोभिडका लागि भनेर जुटाइएका भौतिक सामग्री तथा स्वास्थ्य जनशक्तिलाई व्यवस्थित गर्दै लगेमा भविष्यसम्म काम लाग्नेछ ।’
दरौदी दैनिकबाट