गोरखा, ९ साउन । सवस्टेशनको ट्रान्सफर्मर जलेपछि गोरखामा केही दिन बिजुली बत्ती अवरुद्ध हुने भएको छ । गोरखा बितरण केन्द्रमा रहेको ६८ एमभिए क्षमताका ट्रान्फर्मर शनिवार बिहान जलेपछि बिजुली अवरुद्ध भएको बितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताए ।
‘ट्रान्सफर्मर नयाँ ल्याउनुपर्छ, हेटौँडामा प्राविधिक पठाएका छौँ’ उनले भने ‘आईतवार ल्याउन सकियो भने सोमवार साँझ सम्म विद्युत सुचारु गर्न सकिन्छ ।’ बर्षातको कारण बाटोमा कुनै समस्या भएमा भने अझै ढिलो हुन सक्ने उनले बताए ।
सदरमुकामका बिजुली तीन दिन अवरुद्ध हुने भएपछि संचार माध्याम प्रभावित भएका छन् । विद्युतियक उपकरणको ब्यापार ब्यवशाय गर्नेहरुलाई समस्या परेको छ । विद्यूत नहुँदा इन्टरनेटमा पनि समस्या देखिएको सेवा प्रदायक संस्थाहरुले बताएका छन् ।
आईतवारबाट सरकारी कामकाजमा पनि समस्या हुने भएको छ । २० टन क्षमताका उक्त ट्रान्सफर्मर क्रेनको सहायताले राख्नुपर्छ ।
गोरखा बितरण केन्द्रमा बिद्युत अवरुद्ध हुँदा खोप्लाङ, महेन्द्रज्योती, नयाँ बजार तीनवटै फिडरमा विद्युत छैन । करिब २५ हजार ग्राहक तीन दिन बिजुली बिहिन हुने भएका छन् ।
यद्यपी आँबुखैरेनी, डुम्रे, मुग्लिन, बेनिघाटबाट गोरखाको शहिद लखन र गण्डकी गाउँपालकाको क्षेत्रतर्फ लगिएका लाईनमा भने बिजुली सुचारु भईरहेको बितरण केन्द्रका प्रमुख न्यौपानेले बताए ।