गोरखा, २० साउन । सदरमुकाम जिल्लाका सबै गाउँठाउँभन्दा सभ्य, भव्य, उदाहरणीय हुन्छ भन्ने प्रायको बुझाइ हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासका दृष्टिले सदरमुकाम अन्य गाउँठाउँ भन्दा अग्रणी हुन्छ भन्ने मान्यता कायम छ ।
तर गोरखा सदरमुकामको काँठमा एउटा यस्तो गाउँ छ, जहाँ अत्याधिक रुपमा गुणस्तरहिन मदिरा सेवनबाट अल्पायूमा ज्यान गुमाउनेको संख्या धेरै छ । गोरखा नगरपालिका ६ पोखराथोकमा पाँचबर्षयता १७ जनाको ज्यान गइसकेको छ । सात महिनाको अवधिमा तीनजनाको रक्सीकै कारण मृत्यू भएको छ ।
‘आफ्नै टोलको कुरा हो । सुनाउन त नमिठो लाग्छ, तर कटुयथार्थ यस्तै छ’, स्थानीय बाबुराम सिर्मल भन्छन्, ‘हाम्रो टोलमा रक्सीकै कारण पाँचबर्ष यता १७ जनाको मृत्यू भइसकेको छ ।
रक्सीले एकै बर्षमा पाँचजनासम्मको मृत्यू भएको छ । उनी प्राय ४० बर्षभन्दा कम उमेरका छन् ।’ यसरी मृत्यू हुनेहरुमा अधिकांश पुरुष र एकाध महिला पनि रहेको उनको भनाइ छ ।
कलेजोको बिग्रने, जण्डिस हुने र बिरामी अबस्थामा पनि रक्सी खान नछाड्ने गर्दा अकालमा मृत्यू हुने गरेको सिर्मल भन्छन् । ‘बिहानैदेखि दुवै हातमा बोत्तल लिएर हल्लिदै गाउँ चाहार्छन्’, उनी भन्छन्, ‘पहेँलो जण्डिस, कालो जण्डिसले पेलिसकेको हुन्छ तर रक्सी खान छोड् भन्दा टेर्दैनन् । महिलाहरु पनि रक्सीले मातेर हिडेका हुन्छन् । कसैले कसैलाई टेर्दैनन् ।’
४०, ५० बर्ष उमेर समूहका मान्छे पनि रक्सी धेरै खाएर हिड्ने, अल्पायूमा मर्ने भएपछि सम्झाइ, बुझाई गर्न थालेको बाबुराम सिर्मल बताउँछन् ।
‘मान्छेको पनि अकालमा ज्यान जाने, टोलको पनि बद्नाम हुन थालेपछि टोलले सम्झाइबुझाइ गर्न थालेका थियौँ’, गोरखकाली गाविस वडा नं. २ का पूर्व वडाअध्यक्ष समेत रहेका उनले भने, ‘बिहानभरि सम्झाउँदै हिड्यो, साँझ परेपछि फेरि उस्तै ताल । केहीसीप नचलेपछि अचेल त चुप लागेर बस्छु ।’ कुनैसमय त मलामी नै नपाउने अबस्थासमेत आएको उनले बताए ।
धेरै रक्सी खाएपछि मानसिक असन्तुलन भई आत्महत्या गर्ने घटना पनि पोखराथोकमा भएको छ । प्लास्टिक बोत्तलको गुणस्तरहीन रक्सी खाने, धेरै खाने, चाँडै लाग्ने खालको रक्सी खाने, सितनबिनाको रक्सी खाने, बिहान उठेदेखि नसुतुञ्जेलसम्म रक्सी खाइरहने यहाँ छ । अहिले पनि रक्सीका कारण मरणासन्न अबस्थाका बिरामी गाउँमा रहेको उनले बताए ।
सो गाउँमा बिहानैदेखि रक्सीले मात्ने, होहल्ला र झैझगडा गर्ने परम्परा रहेको गोरखा नगरपालिका ६ का वडाअध्यक्ष नारायणप्रसाद अर्याल बताउँछन् । ‘त्यहाँको समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेमा मैले धेरै सोचेँ’, उनी भन्छन्, ‘युवाहरुमार्फत जागरण अभियान सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।







