गोरखा ९, भदौं । अबैध बन्यजन्तुको अंङ्ग सहित गोरखाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ घर भएका सोनाम तामाङलाई अबैध बन्यजन्तु अंग सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बीरगन्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगामा चेक जाँच गर्ने क्रममा तामाङ पक्राउ परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
६५ बर्षिया तमाङको साथबाट २ थान हुचिलको खुट्टा जस्तो देखिने वस्तु, २ थान हुचिलको पञ्जा जस्तो देखिने बस्तु बरामत भएको प्रहरीको भनाई छ । त्यस्तै २ थान हाल एकिन हुन नसकेको हड्डी, ४ सय ग्राम एकिन हुन नसकेको जनावरको सुकुटी, ३ थान शंख जस्तो देखिने वस्तु, १ थान सेतो टल्कने ढुङ्गा सहित नगद ४० हजार रुपैयाँ समेत तामाङको साथबाट बरामत भएको प्रहरीको भनाई छ ।
प्रहरीले शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागि पुरातत्व विभागमा पठाएको छ भने तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसारमा पठाएको जनाएको छ । शंका लागेर चेकजाँच गर्दा उनि पक्राउ परेका हुन् ।