गोरखा, १८ भदौ । कोरोनाको पहिलो लहरदेखि बन्द गोरखाको पार्लर र सैलुन भदौ १९ गतेदेखि खुल्ने भएका छन् । डिसिसिएमसीको बिहिवारको बैठकपछि जिल्ला प्रशासन कार्यालयको बैठकले १७ महिनादेखि बन्द सैलुन र पार्लर खोल्न अनुमति दिएको छ ।
२०७६ चैतदेखि बन्द रहेको पार्लर खोल्न अहिलेसम्म प्रशासनले अनुमति दिएको थिएन । कोरोना संक्रमण बढ्दै जाँदा पार्लर र सैलुन ब्यवशायी मारमा परेका थिए । केहीले लुकेर, ढोका बन्द गरेर सेवा सञ्चालन गरेपनि प्रशासनको डर भने सँधै भइरहने सौन्दर्य कला ब्यवशायी संघकी अध्यक्ष सुकु श्रेष्ठले बताइन ।
निषेधाज्ञाका कारण केहीले व्यवसाय छाडेर पलायन भएका छन् । भाडा तिर्न नसकेपछि केही ब्यवशायीले घरमै लगेर थन्काएको उनले बताईन् । ‘आम्दानीको बाटो बन्द भएपछि निकै समस्या भएको थियो’, अध्यक्ष श्रेष्ठले भनिन् ।
यसअघि पनि सैलुन संचालकहरु पसल खोलेको कारणले कारवाहीमा परेका छन् । पार्लर ब्यवशायीले पनि प्रशासनको अनुमतिबिना खोलेका कारण कारवाही भोगेका छन् । कतिपय सामग्री प्रयोग नहुँदा सडेको गुनासो उनीहरुको छ ।
१७ महिना बन्द ब्यवशाय खोल्न प्रशासनले अनुमति दिएसँगै ब्यवशायी खुशी छन् । सबै ब्यवशाय संचालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउने, सेनिटाईजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम भने गर्नुपर्नेछ । प्रशासनले निगरानी गर्ने र मापदण्ड पालना नगरेको खण्डमा कारवाही गर्ने निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
दरौदी दैनिकबाट