Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

बयलवासमा पाँच दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित

बयलवासमा पाँच दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित

न्युज कारखाना

१६, पौष २०७८
बयलवासमा पाँच दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित
images

एसवी थापा, सर्लाही, १६ पुस । प्रहरीको भ्यानको ठक्करबाट एक पुरुषको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलबासमा जारी निषेधाज्ञा अझै हटेको छैन । गत मंगलवार दिउँसो ३ बजेबाट जारी निषेधाज्ञा नहट्दा जनजीवन प्रभावित हुन थालेको छ ।

images
images

पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका-५, सखुबनीस्थित खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना शंकास्पद रहेको भन्दै आक्रोशित स्थानीय र बयलवास बजार क्षेत्रका ब्यापारीहरूसमेत आन्दोलित भएका थिए । 

मृतक महतो बयलवास बजार क्षेत्रका फेन्सी पसल सञ्चालकसमेत हुन् । घटनालगतै उग्र बनेका स्थानीय प्रहरी र इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुंगामुढा गर्दै तोडफोडमा उत्रिएपछि गत मंगलबारबाट स्थानीय प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । बुधबार दिनभर लालबन्दीस्थित इलाका प्रहरी कार्यालय परिसरमा भएको छलफलबाट ६ बुँदे सहमति भएको थियो ।

स्थानीय प्रशासन र पीडित परिवारबीच भएको छलफल कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको हो । छलफलमा भएको सहमतिअनुसार पीडित परिवारले शव नबुझेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा तेस्रोपटक थप गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ । बिहिबार सूचना प्रकाशन गरेर जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको जनाएको छ । 

बुधबार लालबन्दीमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट घटनाको सम्वन्धमा अनुसन्धान गर्न समिति गठन गर्ने, मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्नेलगायत ६ बुँदे सहमति भएपछि आन्दोलन भने रोकिएको छ । सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार नै पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

लगातार थपिएको निषेधाज्ञाका कारण बयलवास क्षेत्र सुनसान बनेको छ । बजार क्षेत्रका ब्यापार व्यवसाय बन्द भएपछि उद्योगी व्यापारीहरू मारमा परेका छन् । प्रशासनले निषेधाज्ञा लगाए पनि कुनै पनि बेला झडपका घटना हुन सक्ने आशंकामा स्थानीय त्रसित बनेका छन् । 

निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने विपन्न परिवारको बिचल्ली भएको स्थानीय ठेला ब्यवसायी विकाउ साहले बताए । ‘यतिको लामो समय बजार बन्द भएको हामीलाई थाहा थिएन,’ उनले भने, ‘बजार बन्द भएपछि दैनिक ज्यालादारी गरेर गुजारा गर्ने हामी के गर्ने ?’ तथापि घटनाको निष्पक्ष छानविन हुनुपर्ने उनीहरूको माग छ । 

परिवारले शव बुझेन

घटनाको पाँच दिन बितिसक्दा पनि पीडित परिवारले महताेको शव बुझेका छैनन् । महतोको शव अहिले पनि जिल्ला अस्पतालल मंलगवाको शवगृहमा छ । मंगलबार अबेर भएको सहमतिअनुसार शव बुझेर पीडित परिवारले अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रहरीको भनाइ छ । तर, परिवारजनले सहमति उल्लंघन गरेको उनीहरूका भनाइ छ । प्रहरीका अनुसार गत बुधबार भएको सहमतिपछि बिहीबार मृतकका परिवार शव बुझ्न भनेर मलंगवा पुगेका थिए । तर, पछि त्यसै फर्किएका छन् । मृतकका परिवार चालकविरुद्ध जाहेरी दिन र शव बुझ्न भनेर आए पनि पछि अचानक त्यसै फर्किएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 विभिन्न प्रहरी युनिट तथा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत थप मद्दतमा ल्याएका प्रहरीहरूको कठ्यांग्रिदो चिसोमा बिजोग हुन थालेको छ ।बिहीबार मात्रै बयलवास घटनाबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति गठन गरिसकेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरले २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार, प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) प्रेमकुमार साह र संघीय प्रहरी एकाइ कार्यालय जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रहरीका अनुसार गत आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका-७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा ना४३प ५०१८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका-५, सखुबनी खुबलाल टोलका ३० वर्षीय महतोको मृत्यु भएको थियो ।
 

 

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १४:०९:११ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology