ललित बोहरा, डडेलधुरा, ११ माघ । डडेलधुरामा सम्बन्ध विच्छेद हुने क्रम बढेको छ । सम्बन्धविच्छेद गर्न चाहनेहरू बजारदेखि गाउँ सम्म नै बढेका हुन् । सानै उमेरमा अभिभावकको करकापमा तथा आफ्नै इच्छामा विवाह गर्ने तर भविष्यमा कुरा नमिल्दा छुट्टिने क्रम बढेको हो ।
डडेलधुरा जिल्ला अदालतमा अघिल्लो वर्षबाट सरेका १५ र चालु आर्थिक बर्षमा दर्ता भएका २७ गरि ४२ ओटा सम्बन्ध विच्छेदका मुद्धा छन् । सम्बन्ध विच्छेदको लागि निवेदन दिनेमध्य ९ जना १८ वर्ष मुनिका किशोरी रहेको जिल्ला अदालत डडेलधुराका श्रेस्तेदार रामु शर्माले बताउनुभयो ।
आर्थिक वर्ष २०७६/७७ मा अदालतबाट ३८ जोडीको सम्बन्ध विच्छेद भएकोमा गत आर्थिक वर्षमा त्यो सङ्ख्या बढेर ५४ मा पुगेको थियो । मुलुकी देवानी संहिता ऐन २०७४ लागु भएपछि पुरुषलाई पनि सम्बन्ध विच्छेदको प्रक्रियामा सजिलो भएपछि निवेदन दिनेहरू महिला र पुरुष दुबै बराबरी छन् । समाजिक सञ्जालको माध्यमबाट चिनजान र कम उमेरमै प्रेम तथा विवाह गर्ने र समान्य विवादमै सम्बन्ध विच्छेद गर्ने क्रम बढेको नेपाल बार एसोसिएशन डडेलधुराका पूर्व अध्यक्ष बिष्णुप्रसाद भट्टले बताउनुभयो ।
सम्बन्ध विच्छेद बढ्नुले श्रीमान श्रीमतीको भावना र भविष्यमा असर पर्ने, बालबालिकामा मनोवैज्ञानिक असर पर्ने, आर्थिक तथा सामाजिक रुपमा समस्या पर्न सक्ने लगाएत समस्या देखिने हुँदा सम्बन्ध विच्छेद गर्नुभन्दा समयमा नै सोचेर विवाह गर्न सरोकारवालाको सुझाव रहेको छ । नेपालको कानुन अनुसार २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न पाइदैन ।
कलिलै उमेरमा नबुझि नजानी र परिपक्व नभइ हुने विवाहको दरलाइ घटाउन सके सम्बन्ध विच्छेदलाई पनि कमगर्न सकिने भएकाले बालविवाहलाई न्युनिकरण गर्नुपर्नेमा सरोकारवालाको जोड रहेको छ ।