देवघाट, ११ मंसिर । हिन्दुहरुको लागि महत्वपुर्ण पर्वको रुपमा रहेको हरिबोधनी एकादशीमा पनि धार्मिक स्थलहरुमा सदा जस्तो कुनै चहलपहल नभएको देखिएको छ। कोभिड–१९ को जोखिम कायमै रहेको कारण जिल्लाका मुख्य धार्मिक स्थलहरुमा यस वर्ष कुनै चहल पहल नदेखिएको हो।
हरिबोधनी एकादशीमा नदी तथा तलाउमा स्नान गरि फुलको डोली तार्ने परम्परा छ। तर यस वर्ष नदी तथा तलाउहरुमा भिडभाड भएको छैन। तनहँु चितवन र नवलपुरको संगम रहेको प्रसिद्ध धार्मिक तिर्थ स्थल देवघाटधाम, दमौलीको मादी सेती नदीको संगम, व्यास नपा ६ को सिसाघाट, राजापानी महादेवको मन्दिर, अकलादेवी मन्दिर, ढोरबाराही, भानु नपाको बसन्तपुर स्थित थानीमाईको मन्दिर, बन्दिपुर, आवुँखैरेनीको आँधिमुल, मुग्लिन पारि त्रिवेणी थान लगायतका धार्मिक स्थलमा फुलको डोली तार्ने र भव्य मेला लाग्ने गरेकोमा यस वर्ष उक्त धार्मिक स्थलहरुमा खासै चहल पहल देखिएन।

देवघाटमा गत वर्षहरुको हरिबोधनी एकादशीमा ५० हजार भन्दा बढि भक्तजनको भिड हुने भएपनि यस वर्ष करिब २÷३ हजार भक्तजनले समयको अन्तरमा आएर स्नान गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए। देवघाटको त्रिशुली र कालीगण्डकीको संगममा फुलको डोली तार्ने परम्परा धान्ने काम मात्र भएको अध्यक्ष पौडेलले बताए।

देवघाट क्षेत्र विकास समितिले हरिबोधनी एकादशी पर्वमा देवघाटमा भिडभाड नगर्न भक्तजनहरुलाई अनुरोध गरेको थियो। कोरोना भाइरसको उच्च जोखिम कायमै रहेकाले समितिले मेला, पर्व र उत्सवहरु भिडभाड नगरी घरमै बसेर मनाउन अनुरोध गरेको थियो। कोरोनाको जोखिम रहि रहेकोले सरकारको नीति अनुसार यस वर्ष बर्षको हरिबोधनी एकादशी बाला चर्तुदशी लगायत मेला परम्परा अनुसार घरमै बसेर मनाउन भक्तजनलाई अनुरोध गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणवावु घिमिरेले बताए।

