गोरखा, १२ मंसिर । दैनिक नित्य पूजा बाहेक सर्वसाधारणको लागि बन्द रहेको मनकामना माईको मन्दिर खुलाउन जिल्ला प्रशासन कार्यालय गोरखाले पनि पहल सुरु गरेको छ। कोभिड १९ संक्रमणको प्रभाव कम गर्न सरकारले बन्द गरेका सबै क्षेत्रहरु खुले पनि अझै शक्तिपिठहरु खुल्न नसकिरहेको अवस्थामा स्थानीयले पटक पटक खोल्न अनुरोध गरेको भन्दै प्रशासनले मन्दिर खुला गर्न पहल सुरु गरेको हो।
यसका लागि बिहिबार जिल्ला प्रसाशन कार्यालय गोरखामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयले जिल्लाका धार्मिक शक्तिपिठहरुमा सर्वसाधारणका लागि पूजा गर्न खुला गरिदिनका लागि संघिय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ। यो सँगै मनकामना माईको मन्दिर पनि सर्वसाधारणका लागि पुजा गर्न खुला हुने सम्भावना बढेको छ।
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको प्रभावको कारण सरकारले गरेको निर्देशन बमोजिम विगत ८ महिना देखि मनकामना माईको मन्दिर सर्वसाधरणको लागि पूजा गर्न बन्द छ। अहिले दैनिक नित्य पूजा बाहेक अरु पूजाका लागि मन्दिर बन्द रहदा मन्दिरमा आउने दर्शनार्थीको भरमा चलेको मनकामना बजारको व्यवसायमा चरम संकट पैदा भएको छ।