गोरखा, १६ मंसिर । अस्पताल नभएको स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना अनुसार गोरखाका चार स्थानीय तहले सोमबार अस्पताल शिलान्यास गरे पनि बाँकी ४ स्थानीय तहले शिलान्यास गर्न सकेनन्। जिल्लाको आरुघाट, धार्चे, भिमसेन थापा र सिरानचोक गाउँपालिकाले भने अस्पताल शिलान्यास गर्न सकेनन्।
धार्चे गाउँपालिका वडा नम्बर ५ माछाखोलामा अस्पताल बनाउने पक्का भएको तर जग्गाको पुर्जा आउने प्रक्रिया बाँकी रहेकाले सोमवार शिलान्यास गर्न नसकिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
भिमसेन थापा गाउँपालिकाको वडा नम्बर ६ अश्राङमा अस्पताल बनाउने निधो भएपनि जग्गाको काम बाँकी रहेको अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए। ‘पालिकाको नाममा पुर्जा आउन बाँकी भएकाले शिलान्यास गर्न सकेनौँ’ उनले भने ‘यो महिनाभित्र शिलान्यास हुन्छ।’ सिरानचोक गाउँपालिका स्वास्थ्य शाखाका रामचन्द्र पाण्डेले जग्गा ब्यवस्थापन नहुँदा अस्पतालको शिलान्यास हुन नसकेको बताए।
आरुघाट गाउँपालिकाको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा बिकास गर्ने गाउँपालिकाको योजना थियो। उक्त ठाउँ बूढीगण्डकी आयोजनाबाट डुबान क्षेत्रमा पर्ने भएकाले नयाँ अस्पताल भबन निर्माण गर्न समस्या भएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए।
‘अहिले भइरहेको संरचनामा दरबन्दी, उपकरण थपेर तत्काल १५ शैयाको सेवा दिन सकिन्थ्यो’ उनले भने ‘डुबान क्षेत्रमा पर्ने भएकाले नयाँ भबन बनाउन यहाँ सकिएन।’ डुबान नपर्ने ठाउँमा अस्पताल बनाउन जग्गाको खोजी भईरहेको उनले बताए। ‘समस्याका बारेमा मन्त्रालयलाई लेखेर पठाउने योजना रहेको छ’, उनले भने, ‘दरबन्दी र उपकरण भयो भने अहिलेको संरचनाबाट नै १५ बेडको सेवा दिन सक्छौँ।’
धार्चे गाउँपालिकामा पाँच बेड, भिमसेन थापा गाउँपालिकामा १० र अजिरकोट र आरुघाट गाउँपालिकामा १५ बेडको अस्पताल बनाउने सरकारले निणर्य गरेर स्थानीय तहलाई एकैसाथ सोमबार शिलान्यास गर्ने गरी तयारी गर्न निर्देशन दिएको थियो। अधिकांश पालिकालाई स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर अस्पताल बनाउन भनिएको छ।