कालिबहादुर थापा । हुम्ला, २० मंसिर । जिल्लाको सर्केगाड गाउँपालिका वडानम्बर ६ का एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका दुईजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत वर्ष २०७६ साउन २१ गते १३ वर्षीया बालिकालाई लुगा धुन गएको समयमा पाँच जनाले सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई तत्काल नै पक्राउ गरेको थियो भने फरार दुईजना हिजो पक्राउ परेका हुन्।
बालिकालाई बलात्कार गरेको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले डेढ वर्षपछि सर्केगाड गाउँपालिका वडा ६ बाटै पक्राउ गरेको हो। उक्त घटनामा संलग्न आरोपित तीन जनालाई प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो। बाँकी दुईजना आरोपित फरार रहेका थिए।
हिजो पक्राउ पर्ने सर्केगार्ड गाउँपालिका– ६ का १८ वर्षका सन्देश बुढाथोकी र सोही गाउँका मानदेव बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो। घटना लगत्तै पक्राउ परेका दुईजना पूर्पक्षका लागि बाँकेमा थुनामा रहेका र एकजना नाबालक भएकोले बालसुधार गृह हिरमुनिया बाँकेमा राखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।