गोरखा, २२ वैशाख । गाउँ–गाउँसम्म यति बेला चुनाव लागिसक्नुपर्ने हो। तर, चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा घरमा भोटे ताल्चा ठोकेर यार्सागुम्बा खोज्न लेकतिर लागेका छन्। करिब ३ सय घरधुरीका स्थानीयवासीमा चुनावको कुनै परवाह देखिँदैन।
‘महिना दिन पुग्ने गरी खाद्यान्न याकचौंरीमा बोकाएर गाउँले अस्ति नै लेकतिर हिँडिसके’, किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङचुक राप्तेन लामा भन्छन्, ‘बालबच्चा, याकचांैरी, घरपालुवा जनावर सबै लेकतिरै लागे। उनीहरू अब असारतिर मात्र गाउँ फर्किन्छन् ।’
रासन सिद्धिए एक–दुई जना दुई–तीन सातामा एकफेर आउने गर्छन्। ‘त्यही पनि राति अबेर आइपुग्छन्। बिहान झिसमिसेमै गइहाल्छन्’, अध्यक्ष लामा भन्छन्, ‘कुनै घरमा हिँड्डुल गर्न नसक्ने बुढापाका होलान्, नत्र प्रायः गाउँ सुनसान छ।’ यार्सागुम्बा बेचेर कमाएको आम्दानीले यहाँका बासिन्दा वर्षभरि पुग्ने खाद्यान्न तथा लत्ताकपडा किन्छन्। बालबच्चा पढाउने गर्छन् ।
उनका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा उठेका उम्मेदवार गाउँमा आइपुगेका छन्। तर, गाउँमा मान्छे छैनन्। भन्छन्, ‘उहाँहरू पनि भोट माग्न कि लेकतिरै जानुप¥यो। तर, लेकमै गए पनि गाउँलेहरू भोट हाल्न आउँदैनन्। किनभने, आउन–जान र भोट हाल्न गरेर तीन दिन बिथोलिन्छ।’ एक दिनमा कम्तीमा १० वटा यार्सागुम्बा पाइयो भने पनि तीन दिनमा ३० वटा नोक्सान हुने अध्यक्ष लामा बताउँछन्। स्थानीयवासीले दैनिक रोजिरोटीका लागि चुनावभन्दा यार्सागुम्बालाई प्राथमिकता दिएको उनको भनाइ छ ।
सदरमुकामबाट चार दिन पैदल यात्रापछि मात्रै पुगिन्छ छेकम्पार। यो ठाउँमा चुनावलाई यार्सागुम्बा मात्र समस्या होइन। यहाँका अधिकांश बासिन्दासित मतदाता परिचयपत्र छैन। ‘धेरै पहिले मतदाता परिचयपत्र बनाउन कर्मचारी गाउँमा आएका बेला यार्सागुम्बाकै सिजन परेको रहेछ। गाउँलेहरू लेकमा थिए। कर्मचारीहरू लेकमा गएनन्। गाउँलेहरू घरमा आएनन्। घरमा जति बुढाबूढीहरू भेटिएका थिए, उनीहरूको मात्र परिचयपत्र बनाएर फर्किए’, उनी भन्छन्, ‘पछि गाउँपालिका केन्द्र फिलिममा परिचयपत्र बनाउने शिविर राखिएको थियो। त्यति बेला पनि दुई–तीन दिन हिँडेर परिचयपत्र बनाउन कोही गएनन्।’
चुमनुब्री–६ साविक चुम्चेत गाविसका बासिन्दा पनि यार्सागुम्बाकै खोजीमा लेकतिर हिँडिसके। ‘हाम्रो वडामा यार्सागुम्बा पाइने आफ्नै लेक छैन । कोही प्रोकको, कोही न्याकको, कोही उहियाँको र कोही तिब्बती लेकतिर पनि जानुपर्छ’, स्थानीय सेराप गुरुङ भन्छन्, ‘धेरै टाढा–टाढा जानुपर्ने भएकाले गाउँलेहरू धेरैजसो हिँडिसके।’
पढ्न र व्यवसाय गर्न काठमाडौं, पोखरालगायत सहरतिर गएकाहरू पनि चुनावका बेला फर्किंदैनन्। चुनावको महत्वबारे पर्याप्त जानकारी नभएका कारण चुनाव भनेर धाएर नआउने उनको भनाइ छ। ‘गाउँमा मोटर आउँदैन । दुई–तीन दिन हिँड्नुपर्छ। भोट हाल्नकै लागि भनेर एक साता समय खेरा फालेर सितिमिति मान्छेहरू आउन मान्दैनन्न, उनी भन्छन् ।
आफ्नै प्रतिनिधि छान्न गाउँभेला
अब ९ दिनपछि देशभर स्थानीय तह निर्वाचन हुँदै छ । तर, चुमनुब्री गाउँपालिका–१ सामागाउँमा मंगलबार गाउँभेला सुरु भएको छ। बुधबार सकिने गाउँभेलाले एक वर्षका लागि जनप्रतिनिधि चुन्नेछ । ‘आज (मंगलबार) कचहरी सुरु भयो । भोलि (बुधबार) चार जना लेजेन र चार जना घ्यापो चुन्छ’, स्थानीय कर्मा छेवाङ लामा भन्छन्, ‘लेजेन र घ्यापोले परम्परादेखि चलिआएको नीतिनियम कार्यान्वयन गर्ने÷गराउने गर्छन्।’ लेजेन र घ्यापोले गाउँघरमा प्रथाजनित कानुन कार्यान्वयन गर्छन्, गराउँछन ्।
उनीहरूले समाधान गर्न नसक्ने अवस्थामा गाउँकै मुख्य लामाकहाँ जान्छ। स्थानीय चुनावबाट आउने जनप्रतिनिधिले त सरकारी बजेटबाट विकासको काम मात्र गर्छन् । उत्तरी गोरखाका प्रायः गाउँमा स्थानीयस्तरमा चुनिएका लेजेन, घ्यापो हुन्छन् । ‘हाम्रो वडाभित्र ९ वटा टोल छन् । सबै टोलमा बर्सेनि खेतीबाली भित्र्याइसकेपछि गाउँलेले लेजेन चुन्छन्’, वडा नम्बर २ का अध्यक्ष पेम्बारेता लामा भन्छन्, ‘लेजेनले गाउँमा झैझगडा मिलाउने, न्याय, निसाफ गर्ने, दण्ड, जरिवाना तोक्ने, बाली लगाउने, भित्र्याउने, मेलाजात्राको तिथिमिति जुराउने, रीतिथिति चलाउँछन् ।
सरकारको बजेट र योजनाका काम मात्र वडाध्यक्ष, सदस्यले गर्छन्।’ गाउँभेला गरेर जनप्रतिनिधि चुन्ने सयौं वर्षदेखिको चलन भएकाले तल्लो भेगतिर जस्तो यहाँ स्थानीय तथा आम चुनावको उस्तो रौनक हुँदैन। ‘चुनाव ? के हो यो भनेको ?’
दरौदी दैनिकबाट







