कुरिनटार, २२ मंसिर । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले १० वेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको छ। गाउँपालिकाले चिकित्सक र नर्सको सुविधा व्यवस्था सहित २४ सैं घण्टा सञ्चालनमा ल्याउने गरी अस्थायी कोरोना अस्पतालको निर्माण गरेको हो।
अस्पताल सञ्चालनको लागि सम्पूर्ण तयारी पुरा भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिनुभयो। ‘हामी अब एक दुई दिन भित्रैमा अस्पताल सञ्चालनमा ल्याउछौं’ –उहाँले भन्नुभयो। स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार गाउँपालिकाको कोरोना कोषको करिब साढे १२ लाख रुपैयाँको लागतमा १ जना चिकित्सक र २ जना नर्सिङ स्टाफ सहित सुविधा सम्पन्न अस्थायी कोरोना अस्पताल निर्माण गरिएको हो।
अस्पतालमा अक्सिजन सहितको न्युनतम चिकित्सकिय सुविधा उपलब्ध हुनेछ भने २४ सैं घण्टा चिकित्सक र नर्सको निगरानीमा कोरोना संक्रमित विरामीको उपचार हुनेछ।
यसैबिच हाल इच्छाकामना गाउँपालिकामा सक्रिय कोरोना संक्रमित बिरामी छैन यसकारण नयाँ संक्रमित बिरामी नभेटिन्जेल सो अस्पतालमा अन्य बिरामीलाई राखेर उपचार गरिने पनि शाखा प्रमुख सापकोटाले बताउनुभयो।