बिकास गुरुङ, तेह्रथुम, १४ असार । तेह्रथुमको छथरभित्रका भूमिहीनलाई लालपुर्जासहितको जग्गा वितरण गर्न अधिकार सम्पन्न आयोगगठनको व्यवस्थासहितको नयाँ भूमि ऐन छथर गाउँपालिकाले जारी गरेको छ ।
सुकुम्वासीलाई बढीमा एक रोपनीसम्म र अव्यवस्थित बसोबास गरिहेकाहरूलाई चार आनादेखि आठ आनासम्म जमिन दिएर जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐन निर्माणपछि गाउँपालिकाले लालपुर्जाविहीन घरलाई व्यवस्थितगरि करको दायरामा ल्याउन सहज हुनेछ ।
बजार क्षेत्रका तीन सयभन्दा बढी घर लालपुर्जाविहीन छ । बजारवासीले बसोबास गरेको साढे चार दशकसम्म पनि लालपुर्जा नपाएपछि गाउँपालिकाले समस्या समाधानका लागि आफै ऐन बनाएर आयोग गठनको तयारी थालेको प्रवक्ता राजन नेपालीले बताउनुभयो ।