ध्यान कुलुङ, सङ्खुवासभा, २४ असार । सङ्खुवासभाको खाँदबारी लेगुवा सडक खण्डमा पर्ने दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४४ जना घाईते भएका छन् । आज दिउँसो पिलुवा खोलामा मलामी गएर फर्किएकाहरू बोकेको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरूमा चैनपुर नगरपालिका १० का २४ बर्षीय गंगाबहादुर तामाङ र चैनपुर ९ का ४६ बर्षीय केशव कार्की रहेका छन् । उनीहरुको तुम्लिङटार स्थीत मनकामना अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परि घाईते भएकाहरूको तुम्लिङटार स्थित मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पतालमा उपचारको लागि पठाईएको छ । उपचार भईरहेकाहरू मध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर चालक चैनपुर १० का ३४ बर्षीय मोहन कुमार तामाङलाई प्रहरीले नियन्त्रण गरिसकेको छ ।