गोरखा । गोरखामा विभिन्न सात ठाउँमा नयाँ मतदान स्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको साउन १२ को निर्णय अनुसार शुक्रबार आयोगमा बिवरणसहित सिफारिस गरी पठाइएको हो ।
सिफारिस गरिएका मतदान स्थलमध्ये चुमनुब्री गाउँपालिकामा दुई, धार्चेमा दुई शहीदलखनमा दुई र बारपाक सुलिकोट गाउँपालिकामा एउटा रहेको छ । यस अघिको निर्वाचनमा गोरखामा दुई सय १५ मतदान स्थल र तीनसय ११ मतदान केन्द्र रहेका थिए ।
चुमनुब्री ३ को फिलिम आधारभूत विद्यालय पाती, सिदुङ आधारभूत विद्यालय सरस्यू नयाँ मतदान स्थल कायम भएको छ । धार्चे गाउँपालिका ३ को दुङ्ला आधारभूत विद्यालय, ७ को गोरखनाथ आधारभूत विद्यालय खानीगाउँ, शहीदलखन गाउँपालिका २ को बनौती आधारभूत विद्यालय डाँडागाउँ, सोही वडाको बक्रेश्वरी आधारभूत विद्यालय तिउरेभञ्ज्याङ, बारपाक सुलिकोट गाउँपालिका ३ को स्तुल आधारभूत विद्यालय स्तुलखोला गरी सातवटा नयाँ मतदान स्थल थपका लागि सिफारिस गरिएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
राजनीतिक दल, स्थानीय तह, जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा जिल्लाबाट सिफारिस भएका स्थलबारे अन्तिम निर्णय निर्वाचन आयोगले गर्नेछ । आयोगबाट निर्णय भएपछि मात्रै स्थल थप प्रमाणित हुने निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए । थप भएको स्थलमा एकसय ६८ देखि आठसय ६० मतदाता रहेका छन् ।
१७ वटा मतदान स्थल पूरै स्थानान्तरणका लागि पनि सिफारिस गरिएको छ । अर्को पायक पर्ने ठाउँमा सार्ने गरी सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जस अन्तर्गत आरुघाट गाउँपालिकामा दुईवटा, गण्डकी गाउँपालिकामा एक, गोरखा नगरपालिकामा दुई, चुमनुब्री गाउँपालिकामा सात वटा, धार्चे गाउँपालिकामा चारवटा र भीमसेन थापा गाउँपालिकामा एउटा मतदान स्थल रहेका छन् ।
समान्य त्रुटी भएका तीनवटा मतदान स्थल सच्याउनका लागि पनि सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा रबिलाल सुवेदीले बताए ।








